बसन्त कार्की,
क्यानाडा — लाली गुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबद्वारा क्यानाडामा आयोजित नेपाली मेला हजारौँ दर्शकको उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली कला, संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा क्यानाडामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेलामा सहभागी दर्शकहरूले नेपाली मौलिक संस्कृति, संगीत तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूको भरपूर आनन्द लिएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित हजारौँ दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रममा सहभागी भएका थिए। उनको ऊर्जावान प्रस्तुतिले कार्यक्रमस्थललाई संगीतमय बनाउनुका साथै दर्शकहरूलाई लामो समयसम्म झुमाएको थियो।

मेलामा नेपाली कला र संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समावेश गरिएको थियो। विभिन्न उमेर समूहका दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको क्लब का अध्यक्ष बिश्व अधिकारी ले बताएनु भयो ।
लाली गुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबले क्यानाडामा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने, नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग जोड्ने तथा नेपाली समुदायबीच आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यले मेला आयोजना गरिएको क्लबका पूर्व अध्यक्ष कृजल के.सी. ले बताउनभयो ।

आयोजक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कलाकार, प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण दर्शकप्रति धन्यवाद व्यक्त गरेको छ। हजारौँ दर्शकको सहभागिता र उत्साहले नेपाली मेला क्यानाडाको नेपाली समुदायका लागि एक स्मरणीय सांस्कृतिक उत्सव बनेको छ।
फोटो प्रमीला बस्नेत