काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ विरूद्ध विशेष अदालतमा को सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।
Laxmi sunrise bank
हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा भट्ट विरुद्ध २२ अर्ब बिगो कायम गरेर अभियोग दायर गरिएको सहन्यायाधिवक्ता गङ्गाराम पौडेलले बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दिपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।
विशेष अदालतमा अभियोगपत्र पेस भए पनि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी पार्वती हिटानले जानकारी दिइन्।
‘मुद्दा दर्ता भए पनि आज प्रतिवादीको बयान हुन नसकेपछि न्यायिक हिरासतमा पठाइएको छ,’ सूचना अधिकारी हिटानले रातोपाटीसँग भनिन्, ‘बिगोको सम्बन्धमा गणना हुन बाँकी छ।’
यस मुद्दामा कुल बिगो रकम २२ अर्ब ३९ करोड रुपैयाँ रहेको विशेष सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताले जानकारी दिए।

