काठमाडौं – भारतले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाएको छ।
नयाँदिल्लीमा शनिबार आयोजित कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल र भारत आवश्यकताको समयमा सधैं एकअर्काको साथमा रहेको उल्लेख गर्दै पश्चिम एसिया तथा मध्यपूर्व क्षेत्रमा जारी संकटका बीच पनि नेपालका लागि निर्बाध इन्धन आपूर्ति सुनिश्चित गरिएको बताएका हुन्।
उनले नेपालमा रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न भारत प्रतिबद्ध रहेको समेत बताए। जयशंकरका अनुसार दुई देशबीचको सहयोगले आपूर्ति व्यवस्थापनलाई थप मजबुत बनाएको छ।
भारतको यो प्रतिबद्धताले क्षेत्रीय अस्थिरताका बीच नेपालमा इन्धन तथा कृषि सामग्रीको आपूर्तिमा सम्भावित असर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

