काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तामा नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्ने सहमति भएको छ।
औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र समकक्षी जयशंकरबीच विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा तथा नवप्रवर्तनका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले डिजिटल प्रविधि, स्टार्टअप र क्षमता अभिवृद्धिमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच व्यक्तिगत रकम स्थानान्तरण सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ व्यवस्थाले नेपाल–भारतबीचको सीमापार डिजिटल कारोबारलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई हस्तान्तरण गरेको छ।
दुवै देशले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा स्वागत गर्दै सीमापार अपराध अनुसन्धानमा सहकार्य बढाउने सहमति जनाएका छन्।
भ्रमणका क्रममा ‘डिजिटल इन्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। साथै, मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका छन्।
मार्चमा नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भारत भ्रमण मानिएको छ।

