काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक, पारदर्शी र नेपाल–भारत सम्बन्धलाई नयाँ दिशातर्फ उन्मुख गराउने खालको भएको बताएका छन्।

लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको दाबी गर्दै भारतीय अधिकारी तथा मित्र राष्ट्रका प्रतिनिधिसँग खुला रूपमा छलफल भएको बताए। वार्तामा नेपाली कार्यवाहक राजदूतको समेत सहभागिता गराइएको उल्लेख गर्दै उनले यसले संवादलाई थप पारदर्शी र विश्वासिलो बनाएको धारणा राखे।

उनका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई केवल राजनीतिक दृष्टिकोणबाट नभई आर्थिक तथा विकास साझेदारीको आधारमा अघि बढाउने विषयमा विशेष छलफल भएको थियो। कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी प्रवर्द्धन र विकास सहकार्यलाई प्राथमिकतामा राखेर दुवै पक्षबीच संवाद भएको उनले जानकारी दिए।

लामिछानेले नेपाल–भारत सम्बन्धमा देखिने अस्पष्टता र अपारदर्शिताको अन्त्य गर्दै संस्थागत तथा दीर्घकालीन सहकार्यको आधार तयार पार्ने प्रयास गरिएको बताए। उनले कूटनीतिक विषयलाई सडक, सदन वा मिडियाको बहसभन्दा माथि उठाएर राज्यका संयन्त्रमार्फत व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।

भ्रमणका क्रममा आफ्नो लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्स मा प्रकाशित भएको उल्लेख गर्दै उनले त्यसमार्फत नेपालमा रास्वपाले अघि सारेको सहकार्य र साझेदारीको दृष्टिकोण अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको बताए।

भारतसँगको पछिल्लो संवादले लगानी, विकास र आर्थिक सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी गरेका छन्। उनका अनुसार यस भ्रमणले विगतका केही जटिलताहरू समाधानतर्फ लैजाने आधार तयार गरेको छ।