काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठन गरिएको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाएको छ।
जेठ १८ गते नै कार्यकाल सकिएको समितिले थप पाँच दिनको समय लिएर शुक्रबार प्रतिवेदन पेश गरेको हो। उच्च स्रोतका अनुसार प्रतिवेदनमा गुरुङमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष निकालिएको छ।
गुरुङमाथि अकुत सम्पत्ति आर्जन गरेको, सम्पत्तिको स्रोत खुलाउन नसकेको तथा विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको आरोप सार्वजनिक भएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
उक्त प्रकरणको छानबिनका लागि सरकारले वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।
समितिले प्रतिवेदन बुझाएसँगै सरकारभित्र गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने विषयमा छलफल तीव्र भएको स्रोतले जनाएको छ। गुरुङको राजीनामापछि रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका छन्।
प्रतिवेदनको अध्ययनपछि प्रधानमन्त्रीले आवश्यक राजनीतिक निर्णय लिने अपेक्षा गरिएको छ।

