काठमाडौं । अध्ययन वा असाधारण बिदामा रहेका कर्मचारीहरूको अभिलेख अद्यावधिक नभएको भन्दै सरकारले सम्बन्धित कर्मचारीलाई तत्काल विवरण सच्याउन निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय किताबखाना (निजामती) मा अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र विवरण सच्याउन आग्रह गरेको हो।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो मातहतका अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको वास्तविक अवस्था यकिन गरी आवश्यक विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

सरकारले निजामती सेवाको अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाको सही विवरण राख्न यस्तो कदम चालिएको जनाएको छ।

मन्त्रालयले अध्ययन वा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत दिएको छ।

सरकारी सेवामा बिदाको दुरुपयोग तथा सम्पर्कविहीन रहने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले निगरानी र अभिलेख व्यवस्थापनलाई कडाइका साथ अघि बढाएको जनाएको छ।