काठमाडौं । भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनयन गरेका छन्। यससँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ फेरबदल देखिएको छ।
यसअघि उक्त जिम्मेवारीमा कृष्णप्रसाद सिटौला रहेका थिए। उनलाई जिम्मेवारीबाट हटाएर पन्तलाई अघि सारिएपछि पार्टीभित्र गुटगत समीकरणबारे चर्चा सुरु भएको छ।
कांग्रेस विधानअनुसार प्रतिनिधि सभा संसदीय दलका नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार रहेको छ। सोही अधिकार प्रयोग गर्दै आङ्देम्बेले नेतृत्व परिवर्तन गरेका हुन्।
निवर्तमान नेता सिटौला सभापति शेरबहादुर देउवा निकट मानिन्थे भने पन्तलाई गगन थापा पक्षको प्रमुख अनुहारका रूपमा हेरिन्छ। पन्तले लामो समयदेखि पार्टीभित्र सुधार र विशेष महाधिवेशनको माग उठाउँदै आएकी थिइन्।
यो निर्णयलाई कांग्रेसभित्र इतर समूहको प्रभाव बढ्दो संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।

