बसन्त कार्की, टोरन्टो
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबको आयोजनामा हुन लागेको भव्य नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका निबर्तमान अध्यक्ष कृजल के.शी ले माउन्ट एभरेष्ट टेलिभिजन संग बताए ।
। नेपाली कला, संस्कृति, भाषा, संगीत र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। आफ्ना लोकप्रिय गीत, मौलिक गायन शैली र ऊर्जाशील प्रस्तुतिका कारण चर्चित सेन्चुरीको सहभागिताले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाउने संस्थाका अध्यक्ष बिश्व अधिकारी ले बताए।
कार्यक्रममा नेपाली लोकगीत, दोहोरी, नृत्य, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्। साथै, मेलामा नेपाली खानाका परिकार, हस्तकला, व्यवसायिक स्टल तथा बालबालिका र परिवारका लागि विभिन्न आकर्षक गतिविधिहरू पनि रहनेछन्।
आयोजक लालीगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबले कार्यक्रमस्थल व्यवस्थापन, कलाकारको प्रस्तुति, सुरक्षा, पार्किङ, स्वयंसेवक परिचालन तथा अतिथि सत्कारलगायत सबै आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
क्लबले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई आपसमा जोड्ने, नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग परिचित गराउने तथा स्थानीय प्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताएको छ।
आयोजक समितिले नेपाली समुदायका सम्पूर्ण सदस्य, परिवार, व्यवसायी, कलाकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली मेलालाई भव्य रूपमा सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रम विवरण:
कार्यक्रम: नेपाली मेला
आयोजक: लालीगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लब
मुख्य आकर्षण: चर्चित लोकगायक खेम सेन्चुरी
मिति: जुलाई २५ २०२६
स्थान: सपर्श वल्र्ड प्लाजा ब्राम्पटन,क्यानडा

