बसन्त कार्की
टोरन्टो, क्यानडा। क्यानडाको टोरन्टोमा आगामी अगष्ट ८, २०२६ मा १८ औं हिमालयन मेला आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, संगीत र समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस मेलामा चर्चित गायक तथा कलाकार प्रकाश सपुत मुख्य आकर्षणका रूपमा सहभागी हुने आयोजक संस्था एन.सी.सी.एस का अध्यक्ष सुदर्शन सापकोटा ले बताएका जानकारी गराएका छन्।

हिमालयन मेलालाई क्यानडामा रहेका नेपाली समुदायबीच सांस्कृतिक पहिचान, आपसी एकता र मनोरञ्जनको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिँदै आएको छ। मेलामा नेपाली गीत–संगीत, नृत्य, सांस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरूको प्रस्तुति, नेपाली खाना तथा विभिन्न समुदायिक गतिविधिहरू रहने अपेक्षा गरिएको छ।

मुख्य कलाकारका रूपमा सहभागी हुन लागेका प्रकाश सपुत नेपालका लोकप्रिय गायक, संगीतकार तथा सर्जक हुन्। उनका गीतहरूले नेपाली समाज, संघर्ष, पहिचान र जीवनका विविध पक्षलाई प्रस्तुत गर्दै आएका छन्। टोरन्टोमा हुने कार्यक्रममा उनको उपस्थितिले मेलालाई अझ विशेष बनाउने आयोजकहरूको विश्वास छ।

क्यानडामा बसोबास गर्ने नेपालीहरूका लागि हिमालयन मेला आफ्नो संस्कृति, भाषा र पहिचानसँग जोडिने अवसरसमेत बन्ने गरेको छ। आयोजकहरूले नेपाली समुदायका सबै सदस्य, परिवार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई मेलालाई सफल बनाउन आग्रह गरेका छन्।

कार्यक्रम: १८ औं हिमालयन मेला
स्थान: टोरन्टो, क्यानडा
मिति: अगष्ट ८, २०२६
मुख्य आकर्षण: प्रकाश सपुत