काठमाडौं, दक्षिणकाली । चाल्नाखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा दक्षिणकाली नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा ७ दिने प्रस्तावना लेखन तथा मोबाइल फोटोग्राफी तालिम सुरु भएको छ।
दक्षिणकाली नगरपालिका–१, खहरेमा सञ्चालन भइरहेको तालिम जेठ २४ गतेदेखि ३० गते (७–१३ जुन २०२६) सम्म सञ्चालन हुनेछ। तालिमको उद्देश्य सहभागीहरूलाई प्रस्तावना लेखन तथा मोबाइल फोटोग्राफी सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै सीप, शिक्षा र आत्मनिर्भरतासँग जोड्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता चाल्नाखेल सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रघुबर नेपालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा दक्षिणकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय थापा मगरको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, स्थानीय तहका प्रतिनिधि, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी, प्रशिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तालिम अन्तर्गत सहभागीहरूलाई संस्थागत तथा व्यक्तिगत योजना तयार गर्न आवश्यक पर्ने प्रस्तावना लेखन (Proposal Writing) सम्बन्धी ज्ञानका साथै मोबाइल फोनकै माध्यमबाट उत्कृष्ट तथा व्यावसायिक तस्वीर खिच्ने सीप प्रदान गरिनेछ।
आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले स्थानीय समुदायमा क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

